नेवाः संस्कृतिको महत्वपूर्ण पर्व सिथीनखः

जेष्ठ शुक्लपक्ष षष्ठी अर्थात सिथीनखःको दिन, नेवाः संस्कृतिमा मनाइने सयौं विशेष चाडपर्वहरु मध्ये सिथीनखः पनि एक विशेष पर्व हो । काठमाण्डौं उपत्यका र नेवाः समुदायको बस्ती भएका प्राय सबै ठाउँहरुमा यस पर्वलाई पानीका मुहानहरु इनार, कुवा, ढुंगे धारा (ल्वँ हिति), पोखरी, नाल आदिको सरसफाइ गर्ने तथा घर वरिपरि सफासुघर राख्ने र वातावरण स्वस्थ राख्ने दिनको रुपमा पनि लिने गरिन्छ । वास्तवमा यो पर्व कहिले देखि शुरु भएको भन्ने एकिन तथ्य प्रमाण भेटिएको छैन । तापनि यो पर्व लिच्छविकाल देखि नै मनाउदै आएको इतिहास विद्हरुले अनुमान गरेका छन् । त्यस्तै राजा यक्ष मल्लले आजको दिन सम्पूर्ण पानीको मुहानहरु सफा गर्न उर्दी जारी गरेका थिए पनि भनिन्छ ।

नेपाल सम्बत तछलाथ्व षष्ठी तिथीको दिन मनाइने यो पर्वले वर्षा ऋतु शुरु हुन लागेको पूर्व संकेत गर्दछ । वर्षात शुरु हुनु अघि सिथीनखःको दिन पानीका मुहानहरु जस्तै इनार, कुवा, ढुंगे धारा (ल्वँ हिति), पोखरी, नाल आदिको सरसफाइ गरी त्यस वरपर पूजाआजा गर्ने गरिन्छ । आजकै दिन इनारको पानी सबै निकाली खसेको फोहरहरु सबै सरसफाइ गरि चार दिन सम्म पानी निकाल्न दिइदैन् । तसर्थ यस पर्वलाई सरसफाइ गर्ने पर्वको रुपमा पनि लिने गरिन्छ भने यसो गर्दा पानीका टालिएका मुहानहरु खुल्ने र वर्षैभरी पानीको अभाव नहुने, पानीको मुहान वरपर सफा सुग्घर राख्नु पर्ने जन चेतना जागृत हुने वैज्ञानिक कारण समेत देखिन्छ । काठमाण्डौं उपत्यकामा सार्वजनिक धाराहरुबाट पानी वितरण हुनुअघि यहाँ भएका इनार, कुवा, ढुंगे धारा (ल्वँ हिति), पोखरी, नाल आदि नै पिउने पानीका मुख्य स्रोतहरु थिए र ती स्रोतहरुको सर सफाई, संरक्षण गर्नु अत्यावश्यक थियो । हिजोआज यो पर्वको महत्व बिर्सदै गएको र पानीका स्रोतहरुको सर सफाई र संरक्षण गर्ने चलन पनि कम हुदै गएको आभाष हुन्छ । आगामी दिनमा काठमाण्डौं उपत्यका र नेवाः समुदायको बस्ती भएका ठाउँहरुमा मात्र नभई देश भर नै यो पर्वको वैज्ञानिक पक्ष, मौलिकता र महत्व दर्शाउदै देशव्यापी रुपमा मनाउनु आवश्यक छ ।

आजकै दिनलाई भगवान शिव र पार्वती माताको सन्तान कुमारको जन्मदिनको रुपमा पनि लिइन्छ तसर्थ यस दिनलाई कुमार षष्ठी पनि भन्ने गरिन्छ । कुमार जन्मेको खुशियालीमा कुमारको बिशेष पूजा गरेर, सबै मिली भोज खाएर उत्सव मनाउने चलनको शुरुवात भएको मानिन्छ । नेवाः समुदायमा कुमारलाई सिथिद्यः भन्ने हुनाले सिथिद्यःको पर्व सिथिनखः पर्व भएको हुनुपर्दछ । तर संस्कृतिविद्हरु षष्ठीको अपभ्रंश भएर सिथि भएको र षष्ठी नखःबाट सिथिनखः भएको भन्दछन् । तर जे होस यस सिथिनखः पर्वको बिशेष महत्व छ । नेवाः समुदायमा प्रथम पूज्यको रुपमा गणेश र कुमार कार्तिकेय दुबैलाई मान्दछन् । गणेशजीको प्रथम पूजा कुनै पनि कार्यमा बिघ्नबाधा नपरोस भनेर गरिन्छ भने कुमार कार्तिकेयको प्रथम पूजा आँटेको कार्य सफल पार्न र पूजा समेत सुचारू रुपले सम्पन्न होस् भनेर गरिन्छ ।

नेवाः समुदायमा आफ्नो घरको मूल ढोकाको सामुन्ने कुमार कार्तिकेय (सिथिद्यः)को वासस्थानको रुपमा पिखालखु स्थापना गरेर पूजा गर्ने चलन रहि आएको छ । यसरी घरको मूल ढोकाको सामुन्ने कुमारको वासस्थानको रुपमा पिखालखु स्थापना गर्नुको मुख्य उद्देश्य घरपरिवारको सदस्यहरु घरबाहिर जाँदा सबभन्दा पहिले कुमार कार्तिकेयलाई सम्झेर, मनोकांक्षा पुरा होस भनेर ढोगेर वा पूजा गरेर जाउन भन्ने उद्धेश्यले राखिएकोे मान्यता छ । सिथिनखः पर्व मनाउन सिथिद्यःलाई घरको मूलढोका बाहिर पिखालखुमा चोखो छ प्रकारको बारा, चतांमारी, छ प्रकारको गेडागुडी आदि पकवान चढाएर पूजा गरि कुमारको प्रसाद स्वरुप सम्मेबजी खाने चलन रही आएको छ ।

वैज्ञानिक दृष्टिकोणले पनि मनसुन लागेपछि ब्याक्टेरिया बढ्न थाल्छ । खासगरी पानीको माध्यमबाट ती ब्याक्टेरिया हाम्रो शरीरमा प्रवेश गर्ने भएकोले पानीका मुहानहरु सफा राख्नुपर्छ र त्यस्ता किटाणुसँग लड्न रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउनु पर्दछ । रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिन, आइरन, कार्वोहाइड्रेड भएको पौष्टिक आहार खानुपर्दछ जुन विशेष गरी सिथिनखःमा खाइने विभिन्न प्रकारका बारा र चतामरी आदि दलहन पकवानमा पाइन्छ । नेवाः समुदायमा अक्षय तृतीयाको दिनदेखि दिगुपुजा अर्थात कुलपूजा (देवाली) शुरु भई सिथिनखःलाई अन्तिम दिन मानिन्छ । सिथिनखः वर्षा अघिको अन्तिम पर्व पनि हो, यसपछिको अर्को पर्व गठामुंगः (घण्टाकर्ण) हो ।

सिथिनखः पर्व नेवाः दर्शन र सिद्धान्तसँग पनि सम्बन्धित भएकोले यसको विशेष महत्व छ । काठमाण्डौं उपत्यकावासी नेवाः समुदायको मुख्य चाडपर्वहरु, संस्कृति र परम्पराहरु कृषिमा आधारित छन् तसर्थ नेवा: दर्शन र सिद्धान्तहरु सिथिनखः पर्वमा आधारित छन् भन्दा पनि फरक पर्दैन किनकी सिथिनखः कृषकहरुको लागि एउटा ठूलो र महत्वपूर्ण पर्व हो । सिथिनखः पर्वले धानबाली रोपाई गर्ने वर्षा ऋृतु शुरू भएको संकेत पनि गर्दछ । सिथिनखः पर्व मनाउनुको अर्को मुख्य उद्देश्य कृषकहरुको लागि वर्षातको मौसम शुरुआत भएको र धान रोपाई गर्ने समय आएकोमा खुशियाली मनाउनु हो । कृषकहरुको लागि धानबाली मुख्य बाली भएको र वर्षा ऋृतु वर्ष भरिको लागि खाद्यान्न उत्पादन गर्ने मौसम पनि हो । धान खेती गर्न धेरै मेहनत र परिश्रम आवश्यक पर्दछ । बर्षातको झरीमा रुझेर, हिलो माटोमा खेलेर, झमझम पानीमा रमाएर, धान रोपाई गर्न आवश्यक अधिक तागत र शक्ति, कुमार (सिथिद्यः) र कुलदेवताको पूजा गरी शरीरमा तागत उत्पन्न गराउने बारा, चतांमारी आदि पौष्टिकतायुक्त पकवान खाएर प्राप्त हुने विश्वास रही आएकोे छ ।

त्यस्तै सिथिनखःको अवसरमा काठमाडौंको जैेशीदेवलमा करिब हजार वर्ष अगाडिदेखि कुमार अर्थात सिथिद्यःको मूर्तिलाई प्रत्येक वर्ष पञ्चामृतद्वारा महास्नान गराउने परम्परा रहि आएको छ । सो कुमारको मूर्ति अत्यन्तै आकर्षक रहेको छ । जसलाई यस अवधिमा सार्वजनिक रुपमा दर्शन र पूजा गर्न खुल्ला गरिदै आएको छ । पूर्वको ललितपुर, थसि (सिद्धिपुर)बाट नेम्कुल पूजारी र पश्चिमको बलम्बुदेखि भक्तजनहरू आएर शुरू गरिने कुमार जात्रा चार दिन (सिथिनखः)सम्म जारी रहन्छ । यस पटक भने कोरोना महामारी र जारी लकडाउनका कारण उक्त पर्वले पनि निरन्तरता पाएको छैन् ।

–सम्पूर्ण सदा

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार